भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
आफन्त अर्थात मित साइनो पर्ने दलालले उहाँलाई राम्रो काम लगाईदिने आश्वासन देखाएर झण्डै १० महिना अघि कुवेतमा बेचेका थिए ।
दलालले गरेका गुलिया कुरामा विश्वास गरेर रुपाले पनि परदेशमा कमाउने सपना सजाउनु भयो । आफन्तले बेच्लान् भन्ने सोच्नु भएकै थिएन् ।
‘सबै चिज सोचे जस्तो कँहा हुन्छ र’ रुपा गुनासो गर्नुहुन्छ, ‘कमाउँला, छोरीहरुलाई पढाउँला भनेर विदेश गएको झण्डै आफ्नै ज्यान गयो ।’
दिल्ली हुँदै श्रीलंका, त्यसपछि कुवेत
रुपाका दुईजना छोरी छन् । सानै उमेरमा विहे गरेकी रुपाको जेठी छोरी त १४ वर्ष की भैसकिन् ।
सानीआमाकोमा आउने जाने केटाको मायामा पर्दा रुपा १६ वर्षकी हुनुहुन्थ्यो । मनले चाहेको केटासँग परिवारको सहमती बिनै रुपाले भागेर विहे गर्नुभयो ।
दुवै जना काम गर्नुहुन्थ्यो । छोरीलाई बोर्डिङ स्कुल पढाउनुभएको थियो । सुखी परिवार थियो । रुपाको खुसी र विश्वास धेरै समय टिकेन । श्रीमानले अर्की विहे गरे । श्रीमानले अर्की विहे गरेपछि रुपा माईती मै बस्नु भयो ।
दुई छोरीकी आमा रुपाको मन छोरीहरु कै भविष्यको चिन्ताले थिरमा बसेनन् । विदेश जाने सोच बनाउनु भयो । रुपाको विदेश जाने सोचमा दलालले मलजल गरे । पासपोर्ट बनाउनु भयो ।
चितवनबाट पासपोर्ट लिन काठमाडौं आएकी रुपा, पासपोर्ट लिएको दुई दिनमा कुवेत जानका लागि दिल्ली पुग्नुभयो । दिल्लीबाट दलालले श्रीलंका पठाए । श्रीलंका पुगेपछि रुपालाई फसाए कि झैं लागेको थियो । दलालले गर्ने व्यवहार र उनीहरुको बोलिचालीले उहाँको मन शंकाले उकुसमुकुस भयोे ।
दिल्लीको विमानस्थलको चेकजाँचमा सोध्दा दलालले श्रीलंकामा बुद्धको दर्शन गर्न हिडेको भन्न लगाएका थिए । श्रीलंका, दुवई हुँदै रुपालाई कुवेत पुर्याइयो । कुवेत पुगेपछि उहाँको शंका सही सावित भैसकेको थियो ।
कुवेतमा उहाँलाई केही समय दलालको मै राखे । त्यहाँ उहाँ जस्ता थुप्रै नेपाली महिला राखिएका थिए । कुवेती साहु आएर मोलतोल गरी एक एक गरेर किनेर लान्थे ।
रुपा तिनै गतिविधी नियालेर बस्नु हुन्थ्यो । उहाँलाई पनि साहुले किनेर लगे । देख्दै डरलाग्दा साहु, रुपालाई ऊ सँग जानै मन थिएन् । रुपा काँप्दै गाडी चढेर साहुको घरमा पुग्नु भयो ।
ज्यान जोगाउन कै लागि भाग्नुपर्याे
घरमा काम गर्ने कुनै समय थिएन् । बिहानदेखि बेलुकासम्म काम गर्नपर्थ्याे । खाना खाने समय थिएन् । साहुनीले दुर्व्यवहार गर्थिन् ।
सँगै काम गर्ने साथी त्यो घरबाट भागेपछि रुपा पनि भाग्नु भयो । ‘साथी भागे पछि कामको भन्दा पनि ज्यानको माया लाग्यो, ज्यान जोगाउन कै लागि भागें’ रुपाले सुनाउनु भयो ।
काम गर्ने घरबाट भागेर दलालकोमा पुग्नु भयो । दलाले फेरि त्यही घरमा पठाए । घरका सबै जना सुतिरहेको मौका पारेर रुपा फेरि भाग्नुभयो ।
दलालले त्यसपछि उहाँलाई धेरै घरमा बेचिदिए । ‘पशु झैं कति घरमा बेचिनु, तर रुनु बाहेक अरु विकल्प थिएन्’ रुपाले भन्नु भयो ।
खान बस्न र कामको ठेगान नभएपछि रुपा बिरामी पर्नु भयो । बिरामी परेपनि काम नगरी सुख पाउनु भएन ।
कहिले कुन घरमा, कहिले दलालकोमा गर्दै कुवेतमा रुपाका झण्डै १० महिना विते । काम गरेको पैसा पनि पाउनु भएन । घरमा लुकेर सम्पर्क गर्नुहुन्थ्यो ।
साहुले पत्तो पाए भने मोवाइल खोसिदिन्थे । रोएरै दिनरात बिताउनु हुन्थ्यो ।
रुपा आफ्ना छोरीहरुसँग बेलाबेलामा बोल्नुहुन्थ्यो । सानी छोरी भने रुपासँग रिसाएकी छिन् । ‘मसँग बोल्नै मान्दिन, तपाईंलाई चिन्दिन पो भन्छे’ रुपाले छोरीले फोनमा भनेका कुरा सुनाउनु भयो ।
रुपाले आफ्नो अवस्थाबारे दलाललाई जानकारी पनि गराउनु भएको थियो । तर दलालले उल्टै रुपालाई नै गाली गर्थे ।
ललितपुरको एकान्तकुनामा रहेको नेपाली प्रवासी एकता सञ्जालको सहयोगमा रुपा अहिले नेपाल फर्कनु भएको छ । ‘विदेश जानु नै मेरो गल्ती भयो’ रुपा भन्नुहुन्छ ‘विदेश भनेपछि मैंले त कान समाति सकें ।’ अब नेपालमै व्यापार व्यवसाय गरेर छोरीहरुलाई पढाउने उहाँको योजना छ । उज्यालो अनलाइन बाट
Loading...
No comments:
Post a Comment