• Breaking News

    Friday, June 23, 2017

    नाकाबन्दी अन्त्य गर्न साउदी अरबले पेश गर्यो १३ बुँदे सर्त, अब कतार के गर्छ ?

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    एजेन्सी– साउदी अरब र कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेका अरब देशहरुले संकट अन्त्य गर्नको लागि कतारसँग १३ बुँदे सर्त राखेका छन् ।

    जसमा मुख्य माग उसको चर्चित टेलिभिजन अलजजिरा बन्द गर्ने देखि इरानसँगको कुटनीतिक सम्बन्ध अन्त्य गर्ने र मुस्लिम ब्रदरहुडसँगको सम्बन्ध अलग गर्ने रहेका छन् ।

    कतार संकटमा मध्यस्तकर्ताको भूमिकामा देखिएको कुवेतले कतारलाई दिएको १३ बुँदे मागपत्रमा कतारमा टर्कीको सैन्य उपस्थिती पनि हटाउन माग गरिएको छ । एसोसिएट प्रेसले अरबी भाषामा लेखिएको उक्त मागपत्रको एक प्रति कतारमामिलामा संलग्न एक देशबाट फेला पारेको जनाएको छ ।

    साउदी अरब, इजिप्ट, युएई, र बहराइनले कतारले आतंकवादी संगठनहरुलाई सहयोग गर्ने गरेको आरोप लगाँउदै उसँग सबै सम्बन्धहरु तोडेका थिए जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समर्थन गरेका थिए ।

    यी देशहरुले कतारलाई उनीहरुको सबै मागहरु १० दिनभित्र पुरा गरेमा नाकाबन्दी अन्त्य गर्ने जनाएका छन् जसमा कतारले ठूलो रकम क्षतिपुर्तीबापत तिर्नुपर्ने पनि जनाइएको छ ।

    दोहामा रहेका कतारी अधिकारीहरुले उक्त मागपत्रको बारेमा कुनै प्रक्रिया जनाएका छैनन् । तर, इन्धनमा धनी सानो मुलुक कतारले अलजजिरा टिभी बन्द गर्ने लगाएतका उक्त सूचीमा उल्लेख भएका अन्य मुख्य सर्तहरु पुरा गर्न आफुले नसक्ने अनौपचारिक रुपमा बताइसकेको छ ।

    कतारको सरकारले अरब देशहरुसँग नाकाबन्दी अन्त्यको लागि कुनै पनि सम्झौता नगर्ने बताइसकेको छ । अरब देशहरुले उसले पुरा गर्नै नसक्ने मागहरु राखेर कतारको सार्वभौम मामिला माथि उनीहरुले हस्तक्षेप गर्ने प्रयास गरेको कतारको आरोपलाई बल पुर्याएको छ ।

    एकदिन पहिलेमात्रै अमेरिकी राज्य सचिव रेक्स टिल्लसनले मागहरु तर्कपुर्ण र पुरा गर्न सकिने खालको हुनुपर्ने चेतावनी दिएका थिए । अमेरिका साउदी अरबको मागको सूचीलाई निदिष्र्ट आकार दिइ अहिलेसम्मकै खराब खाडी संकटलाई समाधान गर्नमा आफ्नो भूमिका रहेको देखाउन चाहन्छ ।

    सूचीमा भएको माग अनुसार कतारले चार देशका नागरिकलाई उसको नागरिकता दिन बन्द गर्नुपर्छ र अहिले कतारमा भएका त्यहाँका मानिसहरुलाई देशनिकाला गर्नुपर्छ । जसलाई उनीहरुले कतारलाई उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्नबाट रोक्ने प्रयासको रुपमा व्याख्या गरेका छन् ।

    उनीहरुले कतारलाई यी देशहरुमा आतंकवादी क्रियाकलापमा संलग्न रहेको आरोपमा खोजीको सूचीमा रहेका मानिसहरु उनीहरुलाई बुझाउनुपर्ने, अमेरिकाले आतंकवादीको सूचीमा राखेको अतिवादी संगठनहरुलाई आर्थिक सहयोग गर्न बन्द गर्नुपर्ने लगाएतका माग छन् ।

    कतारले आतंकवादी र अतिवादी समूहहरुलाई सहयोग गरेको आरोपको अस्विकार गर्दै आएको छ । तर, उसले हमास लगाएत केही अतिवादी समूहका मानिसहरुलाई कतारमा आश्रय गरेको कुरा भने स्विकार गरेको छ । उसले विश्वव्यापी द्वन्द्व कम गर्नको लागि

    त्यस्ता समूहसँग संवाद गर्नुपर्ने जनाँउदै आएको छ ।

    छिमेकीहरुले उसलाई अल कायदा र इस्लामिक समूहको विचारलाई समर्थन गरेको आरोप लगाएका छन् । साउदी अरबको क्षेत्रीय दुश्मन इरानसँगको सम्बन्ध नबढाउन पनि उसलाई चेतावनी दिएका दिइएको छ ।

    उसले इरानसँगको कुटनीतिक सम्बन्ध तोड्न र कतारमा रहेका इरानी कुटनीतिज्ञहरुलाई पनि निकाल्न भनेको छ । तर, इरानसँगको सम्पूर्ण सम्बन्ध कतारले तोड्न सक्दैन किनभने कतार र इरानको व्यावसायिक साझेदारि रहेको छ ।

    त्यसैगरि अर्को प्रमुख सर्त दोहामा मुख्यालय रहेको अल–जजिरा स्याटेलाइट टिभी लगाएतका उसका अन्य भगिनी संस्थाहरु पनि बन्द गर्नुपर्ने छ, जसलाई कतारले स्वीकार गर्ने सम्भावना छैन ।

    किनभने कतारको सरकारी अनुदानबाट चल्ने अल–जजिरा टिभी विश्वमै धेरै हेरिने अरबी टेलिभिजन च्यानल हो र उसको अङ्ग्रेजी भाषाको न्युज च्यानल पनि धेरै नै लोकप्रिय र प्रभावशाली मानिन्छ ।

    सेयर गर्नुहोस
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture