भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
नवलपरासीको कावासोती नगरपालिकाका कुमराज महतोकी श्रीमतीको दुवै मृगौलामा पत्थरी देखियो । तर उहाँसँग श्रीमतीको उपचार गर्ने पैसा भएन ।
काठको काम गर्ने कुमराजलाई गाउँघरमा पैसा कमाउने गरी काम पाउनै मुश्किल पथ्र्यो । त्यसैले उहाँले श्रीमतीको उपचार खर्च जुटाउन विदेश जाने निर्णय गर्नुभयो ।
सुरुमा उहाँले दुवई जाने सोचेर प्रक्रिया पनि गर्नुभयो । तर धेरै समय प्रयास गर्दा पनि दुवई जान सक्नुभएन । त्यसैले एजेन्ट प्रेम गुरुङ मार्फत काठमाडौंको डेल्टा इम्प्लोइमेन्ट सर्भिस प्रालि म्यानपावरमा पुग्नुभयो ।
म्यानपावरले उहाँलाई कतारमा फर्निचरको कामका लागि माग आएको भन्दै त्यसमै पठाइदिने बतायो । त्यसका लागि ७५ हजार रुपैयाँ लाग्ने बताए एजेण्टले ।
उहाँलाई सरकारले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गरेको थाहा थियो । फ्रि भिसाबारे कुरा गर्दा विदेश नै जान नपाइने हो कि भन्ने डरले उहाँले एक लाख रुपैयाँ ऋण लिएर पैसा बुझाउनुभयो ।
‘त्यतिबेला विदेश पुग्न पाए पैसा कमाएर श्रीमतीको गर्न सक्थें भन्ने लाग्यो त्यसैले जान्छु भनें’ कुमराजले भन्नुभयो । कतार जानु अघि म्यानपावरले गराएको मेडिकलमा पनि उहाँ पास हुनुभयो ।
तर पनि म्यानपावरले कुरा फे¥यो । फर्निचरमा पठाउने भनेको म्यानपावरले गएको कात्तिकमा विल्डिङ कम्पनीको कामका लागि भन्दै उडाइदियो ।
म्यानपवारले उहाँलाई महिनाको १६ सय रियाल तलब हुन्छ भनेको थियो । तर उहाँ कम्पनीले एक हजार रियाल भन्दा दिएन । नेपालमा भनेको तलब नदिएको कम्पनीले सेवा सुविधा पनि दिएन ।
‘एउटा कोठामा १६ जना सम्म बस्नुपर्ने अनि एउटा ग्याँस खाना पकाउन पालो कुर्नुपर्ने कति समय त भोको पनि सुत्नुप¥यो त्यो पनि भुँईमा । उडुसले पनि त्यतिकै टोक्थ्यो’ उडुसले टोकेको कालो दाग देखाउँदै उहाँले भन्नुभयो ।
त्यहाँ पाएको सास्तीले भन्दा पनि जाँदा लिएको ऋण र श्रीमतीको उपचार गर्नुपर्ने कुराले उहाँलाई सताइरहेको थियो । त्यसैले दुःख हुँदा हुँदै पनि काम गरिरहनुभएको थियो ।
तर दुई महिना पछि भएको मेडिकल जाँचमा फेल भएपछि भने उहाँ होस नै हराए जस्तै हुनुभयो । ‘काठमाडौंमा जाँच गर्दा पास भएको म यहाँ कसरी फेल भएँ’ खुमराजलाई यही कुराले सताइरह्यो । मेडिकल फेल भएको भनिए पनि समस्या के हो भन्ने चाहिँ उहाँलाई कसैले भनिदिएन ।
मेडिकल फेल भएपछि घर फर्किनुको विकल्प भएन । एक हजार रियाल तिरेर उहाँ गएको माघमा नेपाल फर्किनुभयो । नेपाल फर्किएपछि म्यानपावर पुगेका खुमराजले ५० हजार रुपैयाँ माग्नुभयो । तर मेडिकलको कागज दिने शर्तमा १७ हजार रुपैयाँ मात्रै फिर्ता दियो ।
‘त्यो पनि तपाईंको दुःख देखेर भन्दै दियो’ खुमराज भन्नुहुन्छ ‘एजेन्ट, म्यानपावर र मेडिकल जाँच गर्ने संस्थाले नै धोका दिएपछि के गर्नु ।’ क्षतिपूर्ति पाउन कहाँ जानुपर्छ भन्ने थाहा नभएकाले पनि उहाँले त्यसका लागि सम्बन्धित निकाय गुहार्न सक्नुभएन ।
विदेशबाट कमाएर ल्याएर श्रीमतीको उपचार गर्ने सपना पुरा नभएपछि उहाँले मुक्तिनाथ बैंकबाट डेढ लाख रुपैयाँ ऋण लिएर श्रीमतीको उपचार गर्नुभयो ।
अहिले उहाँ त्यही ऋण तिर्नलाई फर्निचरमै काम गर्नुहुन्छ । फर्निचरको कामबाट उहाँले महिनाको २० हजार रुपैयाँ कमाइ रहनु भएको छ । यसैबाट ऋण तिर्नु त छँदै छ, तीन जना छोरालाई पढाउने खर्च पनि जुटाउनु छ ।
Loading...
No comments:
Post a Comment