• Breaking News

    Friday, June 23, 2017

    एक बिरामी आमा : जसले सडक–पेटीमा मोजा बेचेरै छोरीलाई अमेरिका पढ्न पठाइन्

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    अनिल थापा काठमाडौं, १ असार – देशका विभिन्न जिल्लालाई जोड्ने काठमाडौंको गोंगबु बसपार्क । राजनीति जस्तै अस्तव्यस्त र फोहोर । वरिपरि दिनभरि धूलो उडिरहन्छ । मान्छेको आबादी बढेसँगै त्यहाँको अव्यवस्थित जिन्दगीले बाटो धूलाम्मे भइरहन्छ ।

    यही अस्तव्यस्ततामा आफ्नो र सन्तानको भविष्य खोज्न दोलखाकी करुणा भण्डारी धूलोको पर्वाह नगरी सडकपेटीमा सानो व्यापार व्यवसाय गरिरहेकी छन् । ‘त्यति धूलो पनि छैन, त्यति व्यापार पनि छैन,’ उनको सहज उत्तर थियो ।

    .

    दोलखादेखि काठमाडौंसम्मको यात्रा भने करुणाले त्यसै गरेकी होइनन् । उनी काठमाडौं आउनुको पनि लामै कहानी छ । बेलाबेलामा टाउको दुखिरहने रोगले ग्रसित भएपछि करुणा काठमाडौं आएकी थिइन् ।

    महिनैपिच्छे दोलखाबाट काठमाडौं आउनुपर्ने भएपछि उनी यतै बस्ने निर्णय गर्दै थिइन् । उता आफ्ना स–साना नानीहरूलाई हुर्काउने जिम्मा पनि उनको काँधमा थियो । ‘आफूले त नपढेर दुःख पाइयो, भोलि छोरीहरूले जिन्दगीमा मैलेजस्तो दुःख नपाऊन्,’ उनी आफ्नो शुरुका दिन स्मरण गर्दै भन्छिन्, ‘आफू बिरामी भएपनि छोरीहरूको भविष्य बनोस् भनेर व्यापार थालेकी हुँ ।’

    .

    टाउको दुखिरहने रोगले काठमाडौं धाइरहनुपर्ने भएपछि करुणाले काठमाडौंमै बस्ने निर्णय गरिन् । अरूले गरेको देखेर नै उनले यतै केही गर्ने योजना बनाएकी थिइन् । ‘घरबाट पैसा आउने स्थिति थिएन । काम नथाली भएको थिएन । आफूले जानेको केही थिएन,’ करुणा सुनाउँछिन् ।

    २०६२/६३ सालको जनआन्दोलन भर्खरै सकिएको थियो । देश पूरै परिवर्तनको तयारीमा थियो । त्यही समयमा उनले आफूसँग भएको ४ हजार ५ सय रुपैयाँको लगानीमा न्युरोडबाट खुद्रा कपडा किनेर गोंगबु बसपार्क वरिपरिको सडकपेटीमा बेच्न थालिन् ।

    .

    व्यापार थाल्नुको उद्देश्य उनलाई ठूलै व्यापारी बन्छु भनेर पनि थिएन । ‘घरबाट ल्याएको पैसा सकिहाल्यो । अरूले व्यापार गरेको देखेर नै मैले पनि व्यापार गर्न थालें ।’ उनले मुस्कुराउँदै सुनाइन्, ‘पेट पाल्न त परिहाल्यो नि । ममात्र पनि कहाँ थिएँ र ? दुई छोरी पनि ल्याएर आएकी थिएँ’, उनी हाँसिन् ।

    पढाइको महत्त्व बुझेर नै उनले आफ्ना दुई छोरीलाई नर्सरी र कक्षा ४ मा भर्ना गरिदिइन् । त्यतिखेर उनीसँग पैसा भन्ने हुँदैनथ्यो ।

    .

    एक–एक महिनामा आउनु, हस्पिटलमा लामो समयसम्म बस्नु, स–साना केटाकेटीलाई छोडेर उपचारका लागि दौडिरहनु त्यतिबेला उनका लागि एकनासको कार्यतालिकाजस्तै भएको थियो । त्यसैले पनि उनले काठमाडौंमै दुःख गरेर छोरी पढाउने र आफ्नो उपचार खर्चको जोहो गर्ने सोच बनाएको करुणा सुनाउँछिन् ।

    ‘केटाकेटी काम गर्नसक्ने उमेरका थिएनन् । दिनभरि सडकपेटीमा बसेर मोजा बेच्थें, छोरीहरूलाई स्कूल पु-याउथें,’ उनले संघर्षका कथा सुनाउँछिन्, ‘काठमाडौं आउने बेलामा त मसँग ७ हजार पनि थिएन होला । जे पर्छ, त्यही टर्छ भनेरै काठमाडौं आएँ ।’

    टाउकोमा पानी जमेको थियो भनेर डाक्टरले भनेको उनी बताउँछिन् । त्यही कारण बेलाबेलामा तनावले उनी ढल्ने गरेकी थिइन् । अझै पनि औषधि सेवन गरिरहेको बताउने करुणा भन्छिन्, ‘अझै टाउको दुखिरहन्छ । फरक यत्ति हो, अहिले छोरीहरू हुर्किसके ।’

    करुणा आफ्ना छोरीहरू सानैदेखि बुझ्ने भएको बताउँछिन्, ‘पाँच रुपैयाँको एउटा थिन आरारोट बिस्कुटले पाँचदिन सम्म पु–याउँथे छोरीहरूले । पानी खाएर बस्थे । मेरा छोरीहरू त खोले खाएरै हुर्केका हुन् ।’

    .

    छेउमा आमासँगै बसेकी कान्छी छोरी मुसुक्क हाँसिन् । उनलाई आमाको खुबै माया लाग्छ ।

    समाजमा छोरीलाई पढाउनुहुँदैन भन्ने रूढिवादी मान्यता अझै पनि मेटिएको छैन । करुणाका श्रीमान् केदार भण्डारी शुरुका केही महिना काठमाडौं आइपुगेका थिएनन् किनकि उनले घरतिरैको व्यवहार सम्हाल्नुपर्ने थियो । सडकपेटीमा मोजा बेचेर छोरीहरू हुर्काउनु करुणाका लागि त्यति सजिलो थिएन ।

    त्यहीमाथि महिनैपिच्छे अस्पताल गइरहनुपर्थ्यो । ‘बिहान तरकारी पकाएर बेलुकालाई पनि राख्नुपर्थ्यो । अहिले त धेरै सजिलो छ नि । छोरीहरूले दिनदिनै मासु खान खोज्छन् र पनि पुग्छ’, उनले आफ्नो आभा अलिकति उज्यालो पारिन् ।

    जेठी छोरी अस्मिता ‘प्लस टू’ पछि छात्रवृत्तिमा बीएस्सी नर्सिङ पढ्न अमेरिका गएकी छन् । कान्छी छोरी एसईईको तयारीमा छिन् । बुबाले पनि अहिले व्यापारमा केही साथ दिएका छन् । छोरीहरूले भोलि आफ्ना सपना पूरा गर्नेछन् भन्नेमा बा–आमा मख्ख छन् ।

    .

    छोरीहरूको व्यवहार पनि राम्रो छ । यसको कारण आफैं नै हो कि भन्ने लाग्छ करुणालाई । ‘पहिलेबाट नै छोरीहरू बुझ्ने थिए । मेरो कुरा कहिल्यै काटेनन्,’ करुणा सुनाउँछिन् ।

    शुरुका केही दिन निकै गाह्रो भएपनि श्रीमान् काठमाडौं आएपछि परिवार पाल्न अलिक सहज भयो करुणालाई । केदारको साथपछि उनीहरूले लगभग ८० हजार उधारोमा सानो पसल किन्ने आँट गरे ।

    अहिले भने केही राहत मिलेको छ । पसल पनि छ । तर कमाइको हिसाबले फूटपाथमा बस्दा नै बढी कमाइ हुन्थ्यो भन्छिन् करुणा ।

    .

    पसल किनेको केही वर्षमा नै प्रहरीले फूटपाथमा भएका सबै पसल भत्काइदियो । उनीहरूले पनि सामान लगेर कोठामा थन्क्याए । पसलमा भएका केही सामान लिएर भाग्दै बेच्दै गएर दैनिकी चलाइन् करुणाले ।

    एक वर्ष यसरी काम गर्दा पैसा कमाइ भएन । फेरि ऋण खोजेर यही पसल किन्यौं’, उनले हामी बसेर कुरा गरिरहेको पसल देखाउँदै सुनाइन् ।

    त्यसोभए किन फेरि ऋण नै खोज्नुप–यो त? करुणाले भनिन्, ‘उहाँ (श्रीमान्) ले आफैं कमाउने, आफैं उडाउने गर्नुभयो । पैसा जोगाउनुभएन ।’

    .

    ‘म बिरामी हुँदा, काम पर्दा छोरीहरू सघाउन आउँथे, पसलमा बसेर पेन्टी बेच्थे । जेठी छोरी त अमेरिका जानुभन्दा एकहप्ता अघिसम्म फुटपाथमा बसेर कपडा बेच्थी,’ उनले हाँस्दै सुनाइन् ।

    बिमार त बिस्तारै निको हुँदैछ भन्ने करुणालाई लागेको छ । तर उनलाई सधै काठमाडौंमै बस्ने हो भन्ने लाग्दैन । कान्छी छोरी आत्मनिर्भर बनेपछि उनी आफ्नो बाँकी जीवन दोलखामै गएर बिताउने योजनामा छिन् ।
    बिरामी आमाको आँट देखेर छोरीहरू आमासँग कृतज्ञ छन् । बाबाको भूमिका गौण पारिदियो आमाको कडा मेहनतले ।

    नजिकै बसेकी सुस्मिताले आमाको मुखमा पुलुक्क हेर्दै भनिन्, ‘आमाको हालत देखेर बिदाको बेलामा सहयोग गर्न मन लाग्थ्यो । पहिले त बेलाबेलामा टाउको दुखेर ढल्नुहुन्थ्यो ।’

    .

    भोलि छोरी पराइको घरमा जालान् र पाल्लान् भन्ने लाग्दैन करुणालाई । अब धेरै दुःख नगर्न अमेरिका पढ्दै गरेकी छोरी अस्मिताले आग्रह गरिरहन्छिन् । बरू श्रीमानको स्वभाव मनमौजी भएपनि छोरीहरूले गरेको सहयोगले गर्दा करुणा मख्ख हुँदै भन्छिन्, ‘छोरा भनेपछि छोरी भएपनि मेरा सहारा यिनै हुन् । भोलि मलाई पक्कै वृद्धाश्रम गएर बस्न नपर्ला’, करुणा हाँस्दै भन्छिन् ।

    आमाको नजिकै बसेकी कान्छी छोरी सुस्मिता मुसुक्क हाँसेकी थिइन् । शायद उनले वृद्धाश्रमको कुरालाई नबुझेको हुनुपर्छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture