भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
वैशाख १२ गतेको विनाशकारी भूकम्प जाँदा हामी अमेरिकामा थियौं । अमेरिकाको कार्यक्रमबाट संकलित करिब १७ लाख रुपैयाँ बोकेर हामी वैशाख २० गते नेपाल आयौं । नेपाल आउँदा हाम्री आमा (कुञ्जनाकी आमा) ६ वटा करङ भाँच्चिएकाले शल्यक्रिया गरेर बस्नुभएको थियो । घर–परिवार तथा काखकी छोरीलाई आफ्नै अवस्थामा छाड्दै हामी वैशाख २१ गतेदेखि नै भूकम्पले पुर्याएको विनाशमा परेका नेपाली नागरिकको राहत कार्यमा जुट्यौं । राहतका सामग्री बोकेर हामी ११ वटा जिल्ला पुग्यौं । राहत वितरणसँगै हामीले भूकम्पपछि फैलन सक्ने महामारी रोक्ने अभियान थाल्यौं । पुनर्निर्माणका क्रममा महामारीको जोखिम उत्तिकै हुनाले हामी सरसफाइ अभियानमा जुट्यौं । त्यसका लागि चर्पी बनाउनु उपयुक्त हुन्छ भन्ने लागेर नुवाकोटको पीपलडाँडा, ओखरपौवा तथा ठुले पिपलेमा ६४ वटाभन्दा बढी चर्पी बनायौं ।
भूकम्पले विकासको मूल फुटाउने अवसर दिएको निष्कर्ष निकाल्दै हामीले एकीकृत नमुना बस्तीको अवधारणामा काम गर्ने निर्णय गर्यौं । एकै ठाउँमा उस्तै आकार र डिजाइनका घर निर्माण गर्न सकियो भने त्यहाँ विकासका पूर्वाधार पनि सजिलै पुर्याउन सकिन्छ भन्ने हाम्रो सोच थियो । त्यही सोच पूरा गर्ने उद्देश्यले हामीले काभ्रे जिल्लाको डाँडागाउँस्थित पहरी गाउँमा एकीकृत बस्ती बसाउने योजनामा काम गर्न थाल्यौं । जेठ १७ गतेदेखि काम प्रारम्भ भयो । अमेरिकाबाट ल्याएको पैसा सकिएको थियो, त्यसैले सामाजिक सञ्जालमार्फत हाम्रो अभियानलाई सहयोग माग्न थाल्यौं ।
आर्थिक अभाव बढ्दै गएपछि हामीले आफ्नो घर बेच्ने निर्णय गर्यौं, तर स्वदेश तथा विदेशमा बस्ने सहयोगी मन भएका नेपालीहरूको सहयोगले ४७ लाख रुपैयाँ संकलन भयो । करिब ७७ दिन बारीको पाटामा बसेर झन्डै ६७ लाख बजेटको बस्ती बसाउने क्रममा हामी आफैंले ६ लाख रुपैयाँ जम्मा गर्यौं । उक्त बस्ती बसेपछि हामी सरसफाइ अभियानमा जुट्यौं । धुर्मुस–सुन्तली राष्ट्रिय सफाइ अभियान रामेछापबाट प्रारम्भ भयो । त्यही अवधिमा हामीले धुर्मुस–सुन्तली फाउन्डेसन स्थापना गर्यौं । चिसो बढ्न थालेपछि भूकम्पपीडितहरूका लागि दोलखा तथा सिन्धुपाल्चोकमा सिरक–डसना वितरण गर्यौं । त्यही क्रममा हामी पूर्व–पश्चिम सरसफाइ अभियानमा जुट्यौं । तराईमा चर्को आन्दोलन भैरहेका बेला हामी बर्दिबासको एउटा मुसहर बस्तीमा छिर्यौं । त्यहाँको दु:ख देखेपछि हामीले भविष्यमा यो ठाउँका लागि केही गर्नेछौं भनेर अठोट लियौं ।
चैत १३ गतेसम्म आइपुग्दा यो मुसहर बस्तीको ९५ प्रतिशत निर्माणकार्य सम्पन्न भैसकेको छ । हामीले यसअघि निर्माण गरेका दुई बस्तीको तुलनामा यो मुसहर बस्ती अझ बढी सुन्दर तथा उदाहरणीय छ । बस्तीमा ५४ वटा घरसहित एउटा ३२ फिट अग्लो भ्यू टावर, सामुदायिक भवन, बालउद्यान, एउटा मन्दिर तथा प्रत्येक घरमा एक–एकवटा चर्पी एवं धारा जडान गरिएको छ । एक प्रकारले हेर्ने हो भने यो बस्ती युरोप तथा अमेरिकामा निर्माण भएको कोलोनीजस्तै देखिन्छ । यतिबेला हामी घरको रंगरोगन गर्दैछौं । भ्यू टावरको निर्माण अन्तिम चरणमा पुगेको छ ।
वैशाख १ गते शुक्रबार अर्थात नयाँ वर्ष २०७४ को पहिलो दिन हामी सम्पूर्ण नेपालीको मुहारमा खुसी देख्न चाहान्छौं । नेपाली–नेपालीबीच सद्भाव, मानवता तथा राष्ट्रिय एकताको दृष्टिकोणले पनि यो एउटा ठूलो परियोजना हो । तराईमा पटक–पटक आन्दोलन भैरहेको अवस्थामा हामी के सन्देश बाँड्न सफल भएका छौं भने हिमाल, पहाड तथा तराई जहाँ बसे पनि हामी नेपाली हौं, हामीले चाहेको कुरा भनेको देशको विकास हो । पछिल्ला दुई वर्षदेखि हामी घरपरिवारबाट टाढा रहेर, दिनरात आफैं खटेर केही देखाउन भन्दा पनि सबै जना मिल्यौं भने देश बन्न धेरै समय लाग्दैन भन्ने कुरा प्रमाणित गर्न चाहन्छौं । सबै एकजुट भएर लाग्ने हो भने अनि इच्छाशक्ति हुने हो भने केही वर्षमै सुन्दर नेपाल निर्माण हुनसक्छ ।
मुसहर बस्तीमा निर्माण भएका सुन्दर घरहरूले १५ कट्ठा ४ धुर चर्चेको छ । हरेक घर दुई तलाका छन् । भुइँतलामा तीनवटा कोठा छन् भने माथिल्लो तलामा दुईवटा कोठा छन् । हरेक घरको बाहिर एक–एकवटा चर्पी छन् । प्रत्येक घरमा धारा तथा बगैंचा छन् । वैशाख १ गते बिहान हुने घर हस्तान्तरण समारोह करिब आधा घण्टाको हुनेछ । त्यसअघि महोत्तरीका समाजसेवी तथा बुद्धिजीवीहरूसहितको ठूलो र्याली यो बस्तीमा आउनेछ । स्थानीय बासिन्दाले महायज्ञ लगाए भन्दा ठूलो काम भैरहेकाले मनैदेखि सहयोग गर्ने वचन दिएका छन् । राजमार्गभन्दा करिब डेढ किलोमिटर दक्षिणको यो बस्ती निर्माण भएको छ ।
मुसहर बस्तीमा प्रत्येक दिन करिब ३ सय जना मानिसले रात–दिन काम गरिरहेका छन् । बिहान ६ बजेदेखि राति १० बजेसम्म निरन्तर काम गरिएकाले करिब तीन महिनाको अवधिमा यो बस्ती बस्न सफल भएको हो ।
Loading...
No comments:
Post a Comment