• Breaking News

    Tuesday, April 4, 2017

    साउदीमा किसानसँग एक रात

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    त्यहाँको मरुभूमिलाई हरियाली बनाउँछन् । तिनै किसानहरूको कथा हो यो।
    - होम कार्की

    असार २५, २०७२-दमामको पुरानो सडक। साउदीको राजधानी रियादबाट पूर्वतिरको अलखरज सहर जाँदै थिएँ। मुख्य बजार क्षेत्र पार गरेपछि मरुभूमि देखिन थाल्यो। गाडीको गति प्रतिघन्टा एक सय २० किमि थियो। बाहिर हावा चलिरहेको थियो।

    धूलो पनि एकनासले उडिरहेको थियो। मुख्य राजमार्गबाट सहायक सडकमा लागेपछि गाडीको गति घट्दै गयो। धूलोको मुस्लै देखियो।

    मरुभूमिमा कार्यरत नेपाली किसानलाई भेट्न जाँदै थिएँ। मरुभूमिमा भेडी गोठ, ऊँट गोठहरू प्रशस्त भेटिए। काला रंगका ऊँटहरू हिँडिरहेका।

    पत्थरका पहाड बीच बीचमा उठेको। उडेर आएको बालुवाले पहाड छोपिने रहेछन्, हाम्रोतिर हिउँले छोपेजस्तो। जति भित्र गयो, त्यति नै जोडले उडेको बलुवाले बाहिर स्पष्ट देख्नसमेत सकिएन। मेरो साथमा यसअघि त्यहाँका किसानलाई भेटिसकेका रुद्र कार्की र बलराम गिरी थिए। उनीहरू बाटो अल्मिलिए। सही दिशा पत्ता नलागेर दुईपटक गाडी घुमाए। उनीहरू बस्ने ठाउँको नाम थाहा भएको भए पनि सोधखोज गर्नुहुन्थ्यो, अलमलमा परेका गिरी भन्दै थिए, केटाहरूको फोन पनि टिप्दैन।

    बल्ल बल्ल उनीहरू बस्ने मजरा (खेतीपाती) को बाटो पत्ता लाग्यो। पिच सकिएपछि ग्रयाबेल गरेका सडक आयो। अब यो पक्का हो, कार्कीले ठोकुवा गर्दै भने, अलि पर गएपछि हरियाली देखिन्छ। नभन्दै मरुभूमिको बीचमा गजबको हरियाली देखियो। झ्याम्म परेका रूखहरूले मजरालाई घरेको रहेछ। रियादबाट झन्डै एक सय २० किमि कुदेपछि ठाउँ भेटियो।

    .........................

    साँझको घाम डुब्दै थियो। बालुवाको धूलोले अस्ताउँदै गरेको सूर्य प्रस्ट देखिएन। किसानहरू भर्खरै काम सकेर कोठाभित्र छिरेका रहेछन्। एकपट्टि छेउमा मुस्लिम समुदायका कामदार रोजा (व्रत) फुकाउँदै थिए। रमजान महिना परेकाले दिनभर पानी पनि नखाएका उनीहरू ५० डिग्री तापक्रममा पसिना बगाइरहेका थिए।

    मजराका हर्ताकर्ता रहेछन्, काभ्रेका विवेक चौलागाई। यो ठाउँलाई बादिनिसा भन्छन्, बाटो अल्मलिएको थाहा पाएपछि उनले भने। चौलागाई ११ वर्षदेखि साउदीका किसान हुन्। उनले साथीभाइसँग भेटाउनुअघि हतार हतार आफ्नो पौरख देखाउन खेतीतिर लगे। खेती टनेल बनाएर गरेका रहेछन्। तीन किमि लम्बाइ र दुई किमि चौडाइमा गोलभेंडा, काँक्रालगायत तरकारी लगाएका रहेछन्।

    बालुवामा सुन फलाइरहेका छौं, चौलागाईले मिहिनेत देखाउँदै भने, यसरी लटरम्म तरकारी उब्जाउ हुन्छ भन्दा कसैले पत्याउँदैनन्। उनलाई साथीहरू कृषि इन्जिनियर भन्दा रहेछन्। मान्छे पढेर कृषि इन्जिनियर भए, उनले सुनाए, म बालुवामा पसिना बगाएर इन्जिनियर बनें। पढेकाहरू फेल भएर यहाँबाट फर्केका छन्। यस्तो धुपमा दिउँसो कसरी टिक्न सक्नुहुन्छ? मैले सोधें। बानी हो, चौलागाईंले हाँस्दै जवाफ दिए, सबै साथीहरू भएपछि जोश चल्छ। फुर्ती बढ्छ। सुरु सुरुमा कठिन हुन्छ। पछि अभ्यस्त हुँदै जाँदो रहेछ। उनी इलेक्ट्रिसियन बनेर साउदी छिरेका थिए। रियादबाट सिधै मरुभूमि पुगेका उनले त्यो काम पाएनन्। फर्कन खोजे। साहुले फर्किने भए आफ्नै टिकटमा जान भने। टिकट जोहो गर्न केही महिना बाध्य भएर काममा छिरे। महिनाको साढे ५ सय रियालमध्ये धेरै खाना र फोनमै सकिन्थ्यो। ९ महिना रोकिएपछि बानी पर्दै गयो, यतै अल्झिएँ, उनले भने।

    रात परेपछि विवेकले कोठातिर लागे। जहाँ किसानहरू दिनभरको धूलो पसिनाबाट मुक्त भएर नुहाएर बसेका थिए। कोही चिया पिउँदै थियो, कोही फोन गर्दै, कोही फेसबुक चलाउँदै। हामीलाई एकछिन बस्न आग्रह गर्दै विवेक नुहाउन निस्किए।

    ब्लकले बनाएको लामो टहराको दुइटा ठूला ठूला कोठामा डेढ सय किसान रहेछन्। तीमध्ये २७ जना नेपाली, धेरैजसो पर्वत कुश्मातिरका। भित्र छिर्नेबित्तिकै छेउमा भान्सा थियो। कोठाभित्रको एकपट्टि तितेकेरलाको बिस्कुन।

    धेरैजसो नेपाली ७/८ महिनाअघि आएका रहेछन्। समूहमा म्याग्दीका कम्प्युटर शिक्षक जगुलाल हरमेल भेटिए। निजी स्कुलमा कम्प्युटर पढाउँथे। आर्थिक रूपमा कमजोर थिएँ। जतिसक्दो छिटो विदेश जाने योजना बनाएर म्यानपावर धाउँदा चौलागाईसँग भेट भयो, उनले सुनाए चौलागाईले छानेर लिएर आए।

    चौलागाई किसान खोज्न काठमाडौं पुगेका थिए। आउने सबैसँग उनैले खेतीकिसानीबारे अन्तर्वार्ता लिए। अन्तर्वार्ता दिनेहरू मजरामै काम गर्नेका आफन्त साथीभाइ थिए। हामी यहाँ मालिकको होइन, आफ्नो काम गर्ने हो। आएको पहिलो वर्ष १२ सय रियाल तलब पाउँछन्। दोस्रो वर्षपछि महिनाको ४ देखि ५ हजारसम्म रियाल कतै जाँदैन, चौलागाईले भने, यो खेतीबाट कमाएको ६५ प्रतिशत मालिकले लिन्छ। बाँकी हामी कामदार बराबर बाँडेर लिन्छौं।

    अन्तर्वार्ता लिँदा चौलागाईले सबैलाई प्रस्ट बताइदिएका थिए। सधैं असारको १५ हुन्छ भन्नुहुन्थ्यो, त्यही रहेछ, जगुलालले सुनाए, साउदी गएपछि रूखैमा गएर पैसा टिपौंलाजस्तो लागेको थियो। अहिले फेदसम्म आइपुगेको छु।

    अर्को वर्षसम्म टुप्पामा पुगौंला।

    सुरुमा उनीहरू आत्तिएछन्। कता हो कता? गेटभित्र छिरेपछि उनीहरू बाहिर निस्केका छैनन्। उनीहरूले देखेको साउदी भनेको यही खेती मात्रै हो। बाहिरी दुनियाँसँग सम्पर्क छैन। हाम्रो यही चौघेराभित्र संसार छ। सबै गाउँघरका साथीभाई, आफन्त यहीं छन्, कुश्मा पर्वतका कृष्णप्रसाद उपाध्ययले भने, साउदीको सहर घुम्न जाने रहर पनि छैन। फुर्सद पनि छैन। नेपाल जाने/आउने बेला सहर देख्ने हो।

    भित्र छँदा सन्धिखर्क, अर्घाखाँचीका अनुप हमाललाई नेपालमै खेती गर्दै गरेको जस्तो लाग्ने रहेछ। कहिलेकाहीं कामले गेटमा पुगेर बाहिर उराठलाग्दो मरुभूमि देखेपछि भने मन भक्कानिन्छ, उनले भने, त्यो गेटमा सम्भव भएसम्म जान मन लाग्दैन। जानै नपरोस्।

    हमालको सँगै रहेका पर्वतकै मेघराज शर्मा कर्मको कुरा सुनाए। आफूलाई त भाग्य कर्मको फल होजस्तो लाग्छ। कर्मअनुसार फल पनि मिलिरहेकै छ, काले चिया पिउँदै उनले भने, विदेश पैसाका लागि आउने हो। पैसा भएपछि यस्ता दु:ख भुलिँदोरहेछ।

    उनीहरूले आफ्ना लागि आफैं नियम पनि बनाएका रहेछन्। एकले अल्छी गर्दा खेती बिग्रिने भएकाले बिदा बस्न नमिल्ने नियम रहेछ। एक दिन बसे पाँच दिनको तलब काटिने। धुपमा काम गर्नुपर्छ। गार्हो छ। आज एकजना नगए भोलि अर्को जान्नँ, स्याङ्जाका निरबहादुर बोहराले भने, यसरी परम्परा चलेको छ। सके पनि नसके पनि गर्नैपर्छ।

    ..........................

    सुख हाम्रो छैन, दु:खको खाँचो छैन, ५ सालदेखि कार्यरत पर्वतका ऋषिराम पौडेलले भने, मलिलो माटो छोडेर सुखा बालुवा खोतल्न आउनुजस्तो दुर्भाग्य अरू के हुन सक्छ? असफल कृषि नीति र किसानप्रति गरिने व्यवहारकै कारण दुई छाकको गर्जो टार्न पनि देश छाड्नुपरेको पौडेलको बुझाइ छ। किसानलाई सरकारले हेरिदिएको भए परिवारको न्यानो छाडेर यो बिरानो ठाउँमा तातो हावा खान किन आउनुपथ्र्यो र? भुईंबाट जुरुक्क उठेर पौडेलले सुनाए, आफ्नो खेतबारी बाँझो राखेर मरुभूमिलाई पसिनाले भिजाएर रसिलो बनाउन आउनुपरेको छ। विडम्बना नै भन्नुपर्छ।

    खाटको कुनामा बसिरहेका काठमाडौंका शिव गौतमले पौडेलको समर्थन गरे। देशमा त हाम्रो कुनै भ्यालु नै छैन। अझ देश धान्ने गरी रेमिट्यान्स पठाउँछौं, उनले गुनासो गरे, विमानस्थलबाट बाहिर निस्कन पाएको छैन, ऊ डोरी लाउरे आयो भन्दै गिज्याउँछन्।

    छोरा निरबहादुरलाई भेट्न पुगेका स्याङ्जाका साउलिङ मास्टर लालबहादुर बोहराले नेता गैरजिम्मेवार भएको बताए। कोही जिम्मेवार नभइदिएकाले हामी यहाँ आउनुपरेको विषय कसले बुझिदिने? उनले भने, देशको राजनीति ठायँमा आउला र फर्किउँला भनेर बस्दाबस्दै मैले त साउदीमै एकबारको जोवन बिताएँ। छोरोलाई पनि यही ल्याउनुपरेको छ।

    ..........................

    एउटा कोठामा आठजना सुत्नेरहेछन्। रातको ९ बजेपछि रामेछापका बाबुकाजी थापाले भने, लौ साथी हो, अब त सुत्न ढिलो भइसक्यो। भोलि सबेरै बिहान ४:३० बजे बलुवा खोतल्न पुग्नु नै छ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture